अन्तर्राष्ट्रिय खबर । बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन चर्किएको छ। देशभरि बाढीको विपरीत परिस्थितिका बीच पनि विद्यालय बोर्ड परीक्षा सञ्चालन गर्ने सरकारको निर्णयको विरोध गर्दै हजारौं विद्यार्थी सडकमा उत्रिएका छन्।
विद्यार्थीहरूले शिक्षामन्त्री एएनएम एहसानुल हक मिलन को तत्काल राजीनामा माग गर्दै ढाका विश्वविद्यालयबाट सुरु भएको प्रदर्शनलाई सावर, बरिसाल, कुमिल्ला, नारायणगञ्ज, जशोर र बोगुरालगायतका सहरसम्म विस्तार गरेका छन्।
आन्दोलनको अर्को मुख्य कारण शिक्षामन्त्रीले एचएससी परीक्षार्थीलाई ‘फार्मका कुखुरा’ भनेर सम्बोधन गरेको आरोप हो। उक्त अभिव्यक्तिप्रति व्यापक आलोचना भएपछि मन्त्री मिलनले आफ्नो “व्यक्तिगत टिप्पणीबाट कसैको भावना आहत भएको भए क्षमा चाहन्छु” भन्दै सार्वजनिक रूपमा माफी मागेका छन्।
विद्यार्थीहरू बाढी र निरन्तर वर्षाका कारण परीक्षा सञ्चालन गर्न असुरक्षित भएको तथा प्रश्नपत्रमा देखिएका त्रुटिप्रति पनि आक्रोशित छन्। उनीहरूले परीक्षा स्थगित गरी विद्यार्थीमैत्री निर्णय गर्न सरकारसँग माग गरेका छन्।
बंगलादेशमा विद्यार्थी आन्दोलनको यो नयाँ श्रृंखला गत वर्षको ऐतिहासिक आन्दोलनको निरन्तरता मानिएको छ। सन् २०२४ मा भएको व्यापक विद्यार्थी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाड्न बाध्य भएकी थिइन्। आन्दोलनका क्रममा भएको सरकारी दमनमा करिब १,४०० जनाको मृत्यु भएको बताइन्छ।
हसिना सरकारको बहिर्गमनपछि भएको आम निर्वाचनबाट नयाँ सरकार गठन भएको थियो। अहिलेको आन्दोलनले पनि बंगलादेशको राजनीतिक तथा शैक्षिक अवस्था थप तनावपूर्ण बन्ने संकेत देखिएको छ।






