वीरगन्ज महानगर प्रमुख राजेशमान सिंह प्रहरी नियन्त्रणमा

वीरगन्ज । पर्सास्थित वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार सिंहलाई जिल्लाको सीमावर्ती क्षेत्र ठोरी आसपासबाट सुरक्षा निकायले नियन्त्रणमा लिएको हो। उनीसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार सिंहलाई नियन्त्रणमा लिनुको कारणबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। यद्यपि, उनीमाथि यसअघि परेका उजुरी तथा अनुसन्धानसँग सम्बन्धित विषयमा थप सोधपुछका लागि नियन्त्रणमा लिइएको हुन सक्ने चर्चा छ।

नियन्त्रणमा लिइएपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउने तयारी गरिएको बताइएको छ।

यस विषयमा प्रहरी तथा सम्बन्धित निकायबाट विस्तृत जानकारी आउन बाँकी रहेको छ।