काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत परिचित टिकटकर तुलसा अधिकारी पक्राउ परेकी छन्। उनीलाई इन्टरपोलको समन्वयमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अधिकारीविरुद्ध यसअघि नै आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा अनुसन्धानका लागि उनीमाथि रेड कर्नर नोटिस जारी गरिएको बताइएको छ।
पछिल्लो समय चीनमा बस्दै आएकी अधिकारी थाइल्यान्ड पुगेपछि इन्टरपोलको सहयोगमा पक्राउ परेकी हुन्। हाल उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।
प्रहरीले अधिकारीलाई सोमबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराउने तयारी गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।






