धादिङ । नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि परिषद् सदस्य, मिडिया सोसाइटी धादिङका अध्यक्ष तथा धादिङ न्यूज डटकमका प्रधानसम्पादक केशव अधिकारीलाई मातृशोक परेको छ। उहाँकी आमा देउती कुमारी अधिकारीको आइतबार निधन भएको हो।
गल्छी गाउँपालिका–६ बराहा डाँडास्थित आफ्नै निवासमा ७० वर्षको उमेरमा उहाँको निधन भएको परिवार स्रोतले जनाएको छ। वि.सं. २०१३ चैत १८ गते जन्मिनुभएकी देउती कुमारी अधिकारीको आइतबार दिउँसो ३:३० बजे हृदयघातका कारण निधन भएको बताइएको छ।
परिवारका अनुसार उहाँ लामो समयदेखि दम तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो। अचानक हृदयघात भएपछि उपचारको प्रयास गरिए पनि बचाउन नसकिएको जनाइएको छ।
स्वर्गीय अधिकारीका चार छोरा र एक छोरी रहेका छन्। उहाँको अन्त्येष्टि हिन्दु परम्पराअनुसार महेशदोभानमा सम्पन्न गरिएको परिवारले जनाएको छ।
उहाँको निधनप्रति नेपाल पत्रकार महासंघ धादिङ, अनलाइन मिडिया सोसाइटी धादिङ लगायत विभिन्न संघ–संस्थाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।
पत्रकार केशव अधिकारी विगत २२ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ।






