काठमाडौ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म मेची भन्सार कार्यालयबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। कार्यालयको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा अलैँची निर्यात ४१ दशमलव ५८ प्रतिशतले बढेको हो।
नौ महिनाको अवधिमा पाँच हजार २९५ दशमलव २५० मेट्रिक टन अलैँची निर्यात हुँदा यसको कुल मूल्य १० अर्ब ७० करोड ७ लाख १८ हजार रुपैयाँ पुगेको मेची भन्सार कार्यालयले जनाएको छ। सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब २५ करोड १२ लाख ६१ हजार रुपैयाँ बराबरको मात्रै अलैँची निर्यात भएको थियो।
यता, चियाको निर्यात भने घटेको छ। चालु आवको नौ महिनामा २ अर्ब ५८ करोड १९ लाख ८५ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २६ दशमलव ७३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा ३ अर्ब २७ करोड २० लाख ७२ हजार रुपैयाँको चिया निर्यात भएको थियो।
मेची भन्सार कार्यालयका अनुसार अन्य निर्यातयोग्य वस्तुहरूमा पनि उतारचढाव देखिएको छ। भेनियर सिटको निर्यात ३० दशमलव ८८ प्रतिशत तथा छुर्पीको निर्यात ३० दशमलव ३५ प्रतिशतले बढेको छ। त्यसैगरी फलामे पाताको निर्यातमा उच्च वृद्धि हुँदै एक हजार ७४७ दशमलव ८१ प्रतिशत पुगेको छ भने मोलासिसको निर्यात ३६१ दशमलव ३५ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ।
तर प्लाइउड र अम्रिसोको निर्यातमा क्रमशः ३७ दशमलव ७३ प्रतिशत र ३७ दशमलव ३३ प्रतिशतले गिरावट आएको छ। सिमेन्ट क्लिङ्करको निर्यात भने पूर्ण रूपमा रोकिएको जनाइएको छ।
मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल १९ अर्ब ४३ करोड ३५ लाख ३२ हजार रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्।






