उद्योग वाणिज्य महासंघको निर्वाचन आज, प्रज्ञा भवनमा बढ्यो चहलपहल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । निर्वाचनका लागि कमलादीस्थित प्रज्ञा भवनमा बिहानैदेखि व्यवसायी तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति देखिएको छ ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने निश्चित भएको छ भने उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि मतदान भइरहेको छ । निर्वाचनमा अञ्जन श्रेष्ठ पक्ष र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूहबीच प्रतिस्पर्धा देखिएको छ ।
दुवै समूहले विभिन्न पदका लागि आफ्ना उम्मेदवार मैदानमा उतारेका छन् । महासंघका ७३ पदका लागि कुल १३७ जना व्यवसायी उम्मेदवार बनेका छन् ।
निर्वाचन प्रक्रिया बिहान ८ बजेदेखि सुरु भएको हो । मतदान सम्पन्न भएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।