अन्तर्राष्ट्रिय खबर । अमेरिकाका राष्ट्रपति Donald Trump ले इरानसँगको युद्धविराम अवधि अनिश्चितकालका लागि लम्ब्याउने घोषणा गरेका छन्। दुई साताका लागि तय गरिएको युद्धविराम बुधबार (अप्रिल २२) सकिन लाग्दा उनले यस्तो निर्णय सार्वजनिक गरेका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल Truth Social मार्फत जानकारी दिँदै इरानसँग स्थायी समाधान खोज्न कूटनीतिक प्रयास जारी रहेकाले युद्धविराम थपिएको बताएका छन्। उनले भनेका छन् कि पाकिस्तानमा दोस्रो चरणको वार्ताको तयारी भइरहेकाले तत्काल आक्रमण रोकिएको हो।
यद्यपि, विश्वकै महत्वपूर्ण जलमार्गमध्ये एक Strait of Hormuz मा अमेरिकाले लगाएको नाकाबन्दी भने कायमै राखिने उनले स्पष्ट पारेका छन्।
ट्रम्पका अनुसार पाकिस्तानका सेना प्रमुख असिम मुनिर र प्रधानमन्त्री Shehbaz Sharif ले वार्तामार्फत समाधान खोज्न आग्रह गरेका थिए। त्यसपछि आफूले युद्धविराम लम्ब्याउने निर्णय गरेको उनले बताएका छन्।
यस निर्णयप्रति प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पलाई धन्यवाद दिएका छन्। उनले कूटनीतिक पहललाई अगाडि बढाउन यो कदम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्। साथै, इस्लामाबादमा हुने दोस्रो चरणको वार्ताबाट दिगो शान्ति सम्झौता हुने आशा पनि व्यक्त गरेका छन्।
यता, अमेरिकी उपराष्ट्रपति JD Vance को पाकिस्तान भ्रमण कार्यक्रम भने स्थगित गरिएको छ। इरान वार्तामा तत्काल इच्छुक नदेखिएपछि उक्त भ्रमण रद्द गरिएको ह्वाइट हाउसले जनाएको छ।
स्मरणीय छ, गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाई हमला गरेपछि सुरु भएको द्वन्द्व मध्यपूर्वभर फैलिएको थियो। युद्धविरामपछि इरानमाथि सीधा आक्रमण रोकिए पनि क्षेत्रीय तनाव भने अझै कायम छ।






