भारतीय चुनावका कारण पूर्वी नाका ७२ घण्टाका लागि बन्द

झापा । भारतको पश्चिम बङ्गाल मा हुन लागेको विधानसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत पूर्वी सीमामा आवागमन अस्थायी रूपमा रोकिएको छ।
सीमा सुरक्षा व्यवस्थापन कडा बनाउँदै पानीटङ्की नाका बाट हुने मानिस र सवारी साधनको आवतजावत सोमबार साँझदेखि ७२ घण्टासम्म पूर्ण रूपमा बन्द गरिएको हो।
स्थानीय प्रशासनका अनुसार निर्वाचन सम्पन्न नभएसम्म नाका बन्द रहनेछ। यस अवधिमा सर्वसाधारणलाई आवतजावतमा रोक लगाइए पनि अत्यावश्यक काम, विशेष गरी बिरामीको उपचारका लागि जाने–आउनेलाई परिचयपत्रको आधारमा सहजीकरण गरिने जनाइएको छ।
त्यसैगरी, नेपाल तथा अन्य मुलुकका पर्यटकहरूलाई आवश्यक कागजात देखाएर गन्तव्यतर्फ जान अनुमति दिने व्यवस्था मिलाइएको छ।
यसअघि पनि दुवै देशमा चुनाव हुने बेला सुरक्षा संवेदनशीलता बढ्ने भएकाले सीमामा यस्तै प्रकारका अस्थायी बन्द गर्ने प्रचलन रहँदै आएको छ।