दक्षिण लेबनानमा शान्ति सैनिकमाथि फेरि आक्रमण, २ जनाको मृत्यु

अन्तर्राष्ट्रिय खबर । दक्षिण लेबनान क्षेत्रमा संयुक्त राष्ट्रसंघअन्तर्गत खटिएका शान्ति सैनिकमाथि पुनः घातक आक्रमण भएको छ। उक्त घटनामा दुई जना सैनिकको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।
स्थानीय स्रोतका अनुसार दक्षिणी क्षेत्रमा भएको विस्फोटका कारण शान्ति सैनिक सवार गाडीमा क्षति पुगेको थियो। घटनापछि उद्धार तथा सुरक्षाकर्मीहरू परिचालन गरिएको जनाइएको छ।
यसअघि पनि सोही क्षेत्रमा शान्ति सैनिकहरू लक्षित गर्दै आक्रमण भएका थिए, जसले गर्दा त्यहाँको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ।
मृतकमध्ये एक जना इन्डोनेसियाली नागरिक रहेको पुष्टि भएको छ। इन्डोनेसिया सरकारले घटनाको कडा निन्दा गर्दै निष्पक्ष छानबिनको माग गरेको छ। साथै, अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न र यस्ता गतिविधि रोक्न आग्रह गरिएको छ।
संयुक्त राष्ट्रसंघले पनि घटनाप्रति चिन्ता व्यक्त गर्दै शान्ति सैनिकहरूको सुरक्षामा गम्भीर चुनौती देखिएको जनाएको छ। विभिन्न देशका नेताहरूले आक्रमणको विरोध गर्दै तनाव कम गर्न कूटनीतिक पहल आवश्यक रहेको बताएका छन्।
हाल इजरायल र लेबनानबीच बढ्दो द्वन्द्वका कारण क्षेत्रीय अवस्था तनावपूर्ण बन्दै गएको छ। यसका कारण ठूलो संख्यामा मानिस विस्थापित भएका छन् भने मानवीय संकट गहिरिँदै गएको छ।