धुवाकोटमा भोलि माघेसङ्क्रान्तिको अवसरमा गोरु जुधाई तथा सोनाम ल्होछार कार्यक्रम हुने

धादिङ । नीलकण्ठ नगरपालिका–१४ धुवाकोटस्थित गुठमा भङ्गेरी युवा क्लबको आयोजनामा माघेसङ्क्रान्तिको अवसर पारेर गोरुजुधाई महोत्सव तथा तामाङ समुदायको महान् सांस्कृतिक राष्ट्रिय पर्व सोनाम ल्होछार विशेष कार्यक्रम आयोजना हुने भएको छ।

मञ्जुश्री संवत् २८६२ औँ ता–ल्हो (घोडा वर्ग) को अवसरमा आयोजना गरिने उक्त कार्यक्रममा शुभकामना आदान–प्रदानसँगै वृहत् सांस्कृतिक कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ। कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरूका साथै स्थानीय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति र नृत्य रहने भङ्गेरी युवा क्लबका अध्यक्ष विशाल तामाङले जानकारी दिनुभयो।

धुवाकोट क्षेत्रमा हरेक वर्ष परम्परागत रूपमा गोरुजुधाई महोत्सव आयोजना गर्दै आइएको उल्लेख गर्दै अध्यक्ष तामाङले यस कार्यक्रममार्फत कृषक प्रोत्साहन, कृषि संस्कृतिको संरक्षण, मनोरञ्जन प्रदान गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताउनुभयो।
यस्तै, तामाङ समुदायको ल्होछार पर्वलाई लक्षित गरी समुदायको पहिचान, मेलमिलाप, संस्कृति तथा रीतिरिवाजको संरक्षण गर्दै क्लबको दीर्घकालीन विकासका लागि आर्थिक कोष स्थापना गर्ने उद्देश्यसमेत रहेको क्लबकी उपाध्यक्ष कमला तामाङले जानकारी गराउनुभयो।

क्लब तथा समुदायका शुभेच्छुकहरूको सहयोगमा करिब १० लाख रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। कार्यक्रमको संरक्षक नीलकण्ठ नगरपालिका रहेको छ।

सांस्कृतिक कार्यक्रममा चर्चित कलाकार सलिना तामाङ, सैल्प वाइवा, बिनिता गुरुङ लगायतका कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ भने स्थानीय कलाकारहरूको समेत विशेष सहभागिता रहने आयोजकले जनाएको छ।