काठमाडौं । चिसो मौसम सुरु भएपछि विभिन्न स्वास्थ्य समस्या देखिन थालेका छन् । विशेषगरी मौसम परिवर्तनसँगै रुघाखोकीको संक्रमण तीव्र रुपमा फैलिन थालेको चिकित्सकहरूको भनाइ छ।
नर्भिक अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. आलोक ढुङ्गेलका अनुसार चिसोले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्ति, दीर्घरोगी, बालबालिका तथा ज्येष्ठ नागरिक बढी प्रभावित हुने गर्छन्। घरबाहिर निस्कँदा मास्क प्रयोग गर्ने, न्यानो कपडा लगाउने, चिसोबाट जोगिने र इन्फ्लुएन्जाको खोप लगाउनेजस्ता सामान्य सावधानीले रुघाखोकीको जोखिम घटाउन सकिने उनी बताउँछन्।
डा. ढुङ्गेलका अनुसार मुटु, मिर्गौला, दम तथा क्यान्सरका बिरामीमा चिसोका कारण जटिलता बढ्न सक्छ। नसाहरू साँघुरिने भएकाले हार्ट अट्याक र स्ट्रोकको जोखिम पनि चिसो मौसममा बढ्ने गरेको उनले बताए।
कति बेला अस्पताल जानुपर्छ ?
सामान्य रुघाखोकी केही दिनमा आराम हुने भए पनि
– लगातार उच्च ज्वरो आउने,
– सास फेर्न गाह्रो हुने,
– अक्सिजन स्तर घट्ने,
– होस कम हुने,
– छिटोछिटो सास फेर्ने जस्ता लक्षण देखिए तुरुन्त अस्पताल जान चिकित्सकले सुझाव दिएका छन्।
विशेष सावधानी अपनाए चिसो मौसममा फैलिने रुघाखोकी तथा अन्य संक्रमणबाट जोगिन सकिने स्वास्थ्यकर्मीहरूको सुझाव छ।






