नीलकण्ठ ४ मा तीज गीत प्रतियोगिता सम्पन्न: राधाकृष्ण आमा समूह प्रथम

धादिङ । नीलकण्ठ नगरपालिका–४ द्वारा आयोजित वडा स्तरीय तीज गीत प्रतियोगितामा राधाकृष्ण आमा समूहले प्रथम स्थान हासिल गरेको छ। नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणको उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न आमा समूह र संस्थाहरूले भाग लिएका थिए।

प्रतियोगितामा भगवती आमा समूहले दोस्रो, शुभकर्म आमा समूहले तेस्रो स्थान प्राप्त गर्दा सुन्दर बस्ती टोल विकास संस्था सान्त्वना स्थानमा सीमित रह्यो।

विजयी समूहहरूलाई क्रमशः ६ हजार, ४ हजार, २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको वडाले जनाएको छ।

यसै अवसरमा तीज विशेष प्रस्तुति प्रस्तुत गरेका गैरी गाउँ माध्यमिक विद्यालयअन्तर्गत उज्वल बाल क्लबका विद्यार्थीहरूलाई पनि वडा कार्यालयले सम्मान गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष हरि श्रेष्ठले मौलिक पर्व तीजको संरक्षण र युवा पुस्तामा यसको महत्व बुझाउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको बताए।
त्यस्तै, नगर प्रमुख भीम प्रसाद ढुंगानाले यस्ता कार्यक्रमले लुकेका प्रतिभा उजागर गर्न र सांस्कृतिक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

प्रतियोगिताको निर्णायक मण्डलमा पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष तथा रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, महिला अधिकारकर्मी गायत्री खतिवडा र नीलकण्ठ वाल मन्दिर माविकी नृत्य प्रशिक्षक पूजा राना ठकुरी सहभागी थिए।