काठमाडौ । भारतको उत्तराखण्ड राज्यमा हालै आएको भीषण वर्षापछि आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। यस घटनामा धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका–२ काफलपानीका ४ नेपाली नागरिक सम्पर्कविहीन भएका छन्।
बेपत्ता हुनेमा लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ रहेका छन्। उनीहरू जीविकोपार्जनका लागि केही महिनाअघि उत्तराखण्ड गएका थिए।
स्थानीय स्रोतका अनुसार लगातारको वर्षा र पहिरोका कारण प्रभावित क्षेत्रका सडक अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भइरहेको छ। हालसम्म उत्तराखण्डमा विभिन्न स्थानबाट २२ नेपाली बेपत्ता भएको जानकारी प्राप्त भएको छ।
नेपालस्थित सम्बन्धित निकाय र भारतीय प्रशासनबीच समन्वय गरी हराइरहेका मजदुरको खोजी कार्य भइरहेको छ।






