तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन फ्रान्समा तयारी

काठमाडौं । गौतम बुद्धले २९ वर्ष विताएको प्राचीन शाक्य गणराज्यको राजधानी तिलौराकोट दरबार क्षेत्रलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल तीव्र पारिएको छ।

यसै सन्दर्भमा लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ्ग) फ्रान्स पुगेर युनेस्को वर्ल्ड हेरिटेज कमिटीको बैठकका लागि पूर्वतयारीमा जुटेका छन्।

कार्यकारी उपाध्यक्ष डा. लामाले फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराई, भारतीय राजदूत विशाल शर्मा, युनेस्को वर्ल्ड हेरिटेज साउथ एसियाका प्रमुख हिमाल चुली गुरुङ, आइकोमोस अध्यक्ष टेरेसा प्याट्रिसियो, तथा विभिन्न देशका कूटनीतिक नियोग र संस्थाका प्रतिनिधिसँग भेटवार्ता तथा छलफल गरिरहेका छन्।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानीन राईसहितको टोली पनि बैठकमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेको छ।

यसअघि नेपाल सरकारले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन अन्तिम मनोनयन दस्तावेज युनेस्को केन्द्रमा पेश गरिसकेको छ।

गत वर्ष युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई औपचारिक रूपमा सो दस्तावेज बुझाइएको थियो।