काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बहुचर्चित चिलिमे–त्रिशुली सव–स्टेशन ठेक्का काण्डमा बागमती प्रदेशसभा सदस्य डम्बर तामाङसहित ६ जनाविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीपछि अदालतले यो आदेश दिएको हो। तामाङसँगै प्रो–सोलुसन्सका संस्थापकहरू सन्तोष पौडेल, संचिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादवविरुद्ध पनि पक्राउ आदेश जारी भएको छ।
२०७४ कात्तिकमा चिनियाँ कम्पनी पिंगाओ ग्रुपले पाएको सव–स्टेशन ठेक्कामा इनसाइड डिल भएको आरोप छ। आरोप अनुसार प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्ना आफन्तको कम्पनी प्रो–सोलुसन्सलाई लाभ पुग्ने गरी ठेक्का दिलाएका थिए।
यसअघि ५ फागुन २०८१ मा पक्राउ आदेश जारी भए पनि तामाङले उच्च अदालतबाट रोक लिएका थिए। तर ९ असारमा पाटन उच्च अदालतले उक्त रोक खारेज गर्दै पक्राउ प्रक्रिया अघि बढाउन बाटो खुला गरिदिएको छ।
Source : Onlinekhabar