नेकपा एकीकृत समाजवादी द्वारा २३ बुँदे मागसहित रुवीभ्यालीमा ध्यानाकर्षण गरायो

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रुवी भ्याली गाउँ कमिटीले सोमबार गाउँपालिकामा विभिन्न मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ।

पार्टीका गाउँ कमिटी अध्यक्ष रिकमान तामाङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई भेट गरी २३ बुँदे मागपत्र बुझाएको हो।

मागपत्रमा कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, सूचना प्रविधि, उद्योग, पर्यटन, भेदभाव अन्त्य, कर्मचारी मूल्याङ्कन, तथा विकास आयोजना सञ्चालनमा पारदर्शिता सुनिश्चित गर्न आग्रह गरिएको छ।

विशेष गरी कृषिमा आत्मनिर्भरता, युवा रोजगारी सिर्जना, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा पहुँच, आपतकालिन स्वास्थ्य सेवा सुदृढीकरण, सूचना प्रविधिमा कर छुट र प्रोत्साहन, पर्यटन पूर्वाधार विकास, डिजिटल कारोबार व्यवस्था र जलविद्युत आयोजना सरोकार समिति गठनजस्ता मागहरु समेटिएको छ।

यस अवसरमा अध्यक्ष तामाङले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राजनीतिक दल सत्ताकै खेलमा सीमित भएको, मुलुक आर्थिक र सामाजिक रूपमै संकटमा फसेको उल्लेख गर्दै स्थानीय समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्न माग गरे।

उनले भने, “हाम्रो माग नेपाली जनताको जीवनस्तर सुधार, स्थानीय समृद्धि र मुलुकको समग्र विकाससँग जोडिएको छ। माग सम्बोधन नगरिए पार्टीले आन्दोलनको कार्यक्रमलाई अझ तीव्र बनाउनेछ।”

गाउँपालिका प्रशासनले मागपत्रलाई गम्भीरतापूर्वक लिई आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।