धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाले १५ महिना उमेरसम्मका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार सम्पूर्ण खोप प्रदान गरेपछि पूर्ण खोपयुक्त पालिका घोषित भएको छ।
गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा अध्यक्षता पालिका प्रमुख राजु उप्रेतीले गरेका थिए भने जिल्ला स्वास्थ्य कार्यालय धादिङका निमित्त प्रमुख श्याम प्रसाद पोखरेल प्रमुख अतिथि थिए। त्यस्तै गाउँपालिका उपाध्यक्ष देबराज धरेको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा खोप अभियानमा उल्लेखनीय योगदान गर्ने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सम्मान गरिएको थियो।
स्वास्थ्य शाखाका संयोजक यम बहादुर श्रेष्ठका अनुसार पालिकामा खोप उमेर समूहमा पर्ने ३१५ जना बालबालिकालाई सबै आवश्यक खोप लगाइएको छ। अनुगमनका क्रममा उत्कृष्ट नतिजा ल्याउने स्वास्थ्य संस्थामध्ये पहिलो स्थानमा आगिञ्चोक स्वास्थ्य चौकी, दोस्रो सल्यानकोट स्वास्थ्य चौकी र तेस्रो मुलपानी स्वास्थ्य चौकी परेका छन्।
श्रेष्ठले बताए अनुसार गाउँपालिकामा खोप कार्यक्रमको नियमित अनुगमन गरिँदै आएको छ, जसले बालबालिकाको स्वास्थ्य सुरक्षामा सकारात्मक परिणाम देखिएको छ।