सर्वोच्च द्वारा महाकवि देवकोटाको घरको भग्नावशेष नहटाउन अन्तरिम आदेश

काठमाडौँ, भदौ-१३, संग्रालय बनाउने भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानले भत्काउन सुरू गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरको भग्नावशेष नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

प्रतिष्ठानले मैतिदेवीमा रहेको महाकविको घर भत्काउन सुरू गरेपछि अधिवक्ता सञ्जय अधिकारीले देवकोटाको पुरातात्विक महत्त्वको घर थप भत्काउनबाट रोक लगाउन, भत्काइएका भग्नावशेषलाई यथास्थानमा राख्न र निर्माण कार्य नगर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । आइतबार न्यायाधीशहरू अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले यो निवेदनमा सुनुवाइ गर्दै भग्नावशेष नहटाउन र थप निर्माण कार्य नगर्न अन्तरिम आदेश दिएको हो ।
साउन २५ मा सर्वोच्चमा दर्ता गरिएको निवेदनमा देवकोटाको घरको पुरातात्विक महत्त्व रहेको र त्यसको आधिकारिकता नासिने गरी कुनै काम नगर्न आदेश माग गरिएको थियो । पहिलो सुनुवाइमा साउन २७ गते न्यायाधीश तेजबहादुर केसीले प्रज्ञा प्रतिष्ठानलाई देवकोटाको घर भत्काउनुको कारण मागेका थिए ।
उक्त आदेशमा सरकारी पक्षको दाबीसमेत सुनेर अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्ने भनिएको थियो । त्यसपछि आइतबार भएको सुनुवाइमा सर्वोच्च अदालतले मुद्दा नटुंगिएसम्म देवकोटाको घरमा निर्माणसँग सम्बन्धित कुनै पनि कार्य नगर्न आदेश दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here