काठमाडौँको चोभारमा सुक्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न

काठमाडौ- बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन काठमाडौँको चोभारमा सुक्खा बन्दरगाहको भौतिक निर्माण कार्य पूरा भएको छ । कोभिड–१९ को महामारी र बन्दाबन्दीकै बीच निर्माण कार्य भएको सो बन्दरगाह अब सञ्चालनको पर्खाइमा छ । यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोडिने योजना सरकारको छ ।

सो बन्दरगाहको सञ्चालन ढाँचा तय गर्न समिति गठन गरी काम अगाडि बढाइएको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको सञ्चालन ढाँचा तय गर्न समिति गठन गरी काम अगाडि बढेको जानकारी दिए ।

गजुरेलले भने, “बन्दरगाह सञ्चालनका लागि आवश्यक सबै संरचना तयार भइसकेका छन् । सञ्चालन ढाँचा तयार हुनेबित्तिकै बन्दरगाह सञ्चालनमा आउने छ ।”

बन्दरगाह सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र इन्टर मोडल यातायात विकास समितिले तयारी गरिरहेका छन् । बन्दरगाह सञ्चालनका लागि चाहिने भन्सार भवन, क्वारेन्टाइन (खाद्यवस्तुको गुणस्तर तथा विषादी मिसावट जाँच गर्ने) भवन र प्रशासनिक भवन तयार भइसकेको छ । त्यसैगरी तीनवटा गोदाम र गुणस्तर जाँच गर्ने तीनवटा भवन निर्माण भएका छन् । प्रत्येक गोदामको क्षमता एक हजार २९६ वर्गमिटर छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले बन्दरगाह सञ्चालनका लागि आवश्यक कार्यविधि तयार भइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here