काठमाडौँ । रुसी सेनामा भर्ती भई युक्रेनको जापरियामा खटिइएका गंगाजुमना गाँउपालिका–३ धादिङका ३७ वर्षीय पूर्णवहादुर गुरुङले युद्धमा जानुअघि मंसिर १३ मा फेसबुकमा लेखेका थिए, ‘मैले जीवनमा धेरै सपनाहरु पछ्याएँ । मलाई थाहा छैन, भोलि के हुन्छ ? हेर्दै जाऊँ ।
रुसी सेनामा भर्ना भएदेखि तालिमको क्रममा आधुनिक हतियार चलाएकासम्म भिडियोहरु राखिरहन्थे । एक महिने आधारभूत तालिम लिएर मंसिर १३ गते पहिलो पटक युद्धमैदानमा प्रवेश गरेका पूर्णबहादुरलाई बारुदी सुरुङ (ल्याण्ड माइन) ले उडाइदियो ।
युद्ध मैदानबाट बाँचेर फर्केर आएका उनका साथीले मंसिर २२ गते पूर्णवहादुरका साइँला दाजु श्यामबहादुरलाई लडाइँको क्रममा पूर्णबहादुरको क्षतविक्षत शरिरको भिडियो पठाइदिए । ‘भाई युक्रेनको माइनमा परेर ज्यान गुमाएको भिडियो पाएँ । त्यो भिडियो निकै दर्दनाक थियो । मैले भाईको अनुहार प्रष्टसँग चिन्न सकें,’ श्यामबहादुरले कान्तिपुरसँग भने, ‘मंसिर १८ गते नै भाईको मृत्यु भएको रहेछ ।’
पूर्णबहादुरसँगै अर्का नेपालीको पनि ज्यान गएको थियो । तिनको भने पहिचान खुलेको छैन । ‘भाईको शव आउँछ जस्तो लागेन । हामीले भाईको तस्बिर राखेर दाहसंस्कार गर्यौं । ३ दिनमै काजक्रियाको काम सक्यौं,’ उनले भने,‘मृत्यु भएको २० दिन भइसकेको छ । यसबारे न रुस सरकारले औपचारिक खबर दिन्छ । न नेपाल सरकार नै केही बोल्छ ।’
श्यामबहादुरकाअनुसार साथीले नदेखेको र भिडियो नलिएको भए पूर्णबहादुरको अवस्था अज्ञात हुने थियो । १२ वर्षको छोरा र ६ वर्षकी छोरीलाई छाडेर सुखद भविष्यको लागि रुस पुगेको ४५ औं दिनमा नै पूर्णबहादुरले देखेको सपना युक्रेनी भूमिमा बिलायो । ‘भाई दुईवर्ष साउदी अरबमा काम गरेर फर्केको थियो । उ सामान्य नागरिक हो । प्रहरी–सेनाको काम गरेको होइन । ८ लाख रुपैयाँ तिरेर अष्टमीको भोलिपल्ट रुसी सेनामा भर्ती हुन गयो । कसले पठायो पनि थाहा छैन । एजेन्टले पत्ता लगाउन सकेको छैन,’ पोर्चुगलबाट हालै फिरेका श्यामबहादुरले भने,‘हामीसँग कुनै सम्बन्ध नै नभएको युद्धले भाईलाई लगिदियो । परिवार नै बिचल्ली हुन पुगेको छ । क्षतिपूर्ति आउँछ कि आउँदैन थाहा छैन ।
स्रोत : कान्तिपुर अनलाइन