लाप्चेत गाउँको तमु ल्होसार विशेष कार्यक्रमको भोलि उद्घाटन: भलिबल खेलको टिम दर्ता १० बजे सम्म हुने

पुस -१२, बिहीबार । रुबीभ्याली ६ को गुरुङ गाउँमा हुन गइरहेको तमु ल्होसार विशेष कार्यक्रमको भोलि शुक्रबार उद्घाटन हुने भएको छ । गुरुङ समुदायले नयाँ बर्षको रुपमा मनाइने यो पर्वमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु घाटु नाच, लामा नाच, दोहोरी प्रतियोगिता लगायत भलिबल प्रतियोगिता समेत हुने र त्यसको निम्ति सबै तयारी सम्पन्न भएको स्थानीय बिमल गुरुङले होराईजन खबरलाई बताउनु भयो ।

रुबीभ्याली को ५ गाउँहरु वडा न. ६ का खादिङ, लप्चेत, रिचेत, तिर र वडा न. ४ को चालीस गाउँहरुमा हरेक बर्ष मनाउने यो पर्व, यो बर्ष भने जनचेतना महिला समुहको आयोजनामा लाप्चेत गाउँमा मनाउन लागिएको हो । रुबीभ्याली ६ को मुख्य आर्थिक सहयोगमा हुन लागिएको उक्त कार्यक्रममा रुबीभ्याली ४ र ६ का ५ वटै गाउँका गुरुङ समुदायहरु एकै ठाउमा जम्मा भै आपसमा शुभकामना साटासाट गरि हर्सो उल्लासका साथ मनाइने गरिन्छ ।

“शास्त्र हराए संस्कार हराउन्छ, संस्कार हराए संस्कृति हराउन्छ, संस्कृति हराए मानव हराउन्छ अथवा मानव अस्तित्व हराउन्छ ।” भन्ने मुल नाराको साथ आयोजना गरिएको उक्त तमु ल्होसार विशेष कार्यक्रम पुस १५ गते रुबीभ्याली ६ का वडा अध्यक्ष समीर गुरुङको प्रमुख आतिथ्यतामा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न हुनेछ ।

त्यस्तै ल्होसार कै पावन अवसरमा आयोजित वडा स्तरीय पुरुष मैत्रीपूर्ण भलिबल प्रतियोगितामा सहभागी हुनका लागि पत्राचार गरिसकेको आयोजक समितिले जानकारी गराए ।

इच्छुक सहभागी टिमले बुधबार बिहान १० बजे भित्र टिम दर्ता गरिसक्नु पर्ने अन्यथा प्रतियोगितामा सहभागी गराउन नसकिने आयोजक टिमले बताए । थप जानकारीको लागि 9860169679 मा कल गर्न सकिने छ ।