धादिङ । धादिङ जिल्ला अदालतले चालु आर्थिक वर्ष २०८२/८३ को असार १८ गतेसम्म दर्ता भएका कुल मुद्दामध्ये ६७ प्रतिशत मुद्दा फर्छ्योट गरेको जनाएको छ। अदालतका अनुसार यस अवधिमा १ हजार ५१६ मुद्दामध्ये १ हजार १७ वटा टुंग्याइएको छ भने ४९९ वटा मुद्दा अझै विचाराधीन छन्।
अदालतका श्रेस्तेदार राजेन्द्र लुइँटेलका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ३२५ र चालु आर्थिक वर्षमा दर्ता भएका १ हजार १९१ गरी कुल १ हजार ५१६ मुद्दा अदालतमा रहेका थिए। चालु आर्थिक वर्षका लागि ७५ प्रतिशत मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखिएकोमा असार १८ सम्म ६७ प्रतिशत प्रगति भएको उनले जानकारी दिए।
विचाराधीन ४९९ मुद्दामध्ये ३७९ वटा सरल मार्गअन्तर्गत छ महिनाभित्रका, ७६ वटा सामान्य मार्गअन्तर्गत ६ देखि १२ महिनाभित्रका, ४२ वटा विशेष मार्गअन्तर्गत एक वर्षभन्दा पुराना तथा ३ वटा दुई वर्षभन्दा बढी समयदेखि विचाराधीन रहेका छन्।
अदालतको तथ्यांकअनुसार यस वर्ष सबैभन्दा बढी सम्बन्ध विच्छेदका ६५३ मुद्दा दर्ता भएका छन्। तीमध्ये ५५२ वटा फर्छ्योट भइसकेका छन् भने १०१ वटा विचाराधीन छन्। त्यस्तै लागूऔषधसम्बन्धी ५४ मध्ये ४०, करणीसम्बन्धी ३७ मध्ये २२, ज्यानसम्बन्धी ३० मध्ये २३, सवारी ज्यानका ४३ मध्ये २४, अंश–मानाचामलका १४९ मध्ये ८१, घरेलु हिंसाका १४ मध्ये १०, चेक अनादरका २५ मध्ये १५ तथा अन्य शीर्षकका ५११ मध्ये २४९ मुद्दा फर्छ्योट भएको अदालतले जनाएको छ।
फैसला कार्यान्वयनतर्फ कैदसम्बन्धी ४३७ मुद्दामध्ये २५६ वटा कार्यान्वयन भइसकेका छन् भने १८१ वटा बाँकी छन्। यस्तै जरिवाना असुलीतर्फ करिब ३६ करोड ८५ लाख रुपैयाँ दायित्वमध्ये करिब २ करोड ९० लाख रुपैयाँ मात्र असुल भएको छ भने करिब ३३ करोड ९४ लाख रुपैयाँ अझै असुल हुन बाँकी रहेको अदालतले जनाएको छ।
श्रेस्तेदार लुइँटेलले मुद्दा फर्छ्योट दर र फैसला कार्यान्वयनलाई अझ प्रभावकारी बनाउँदै वार्षिक लक्ष्य हासिल गर्ने दिशामा अदालतले आवश्यक पहललाई निरन्तरता दिएको बताए।






