असार २४ देखि २६ सम्म राहदानी सेवा बन्द, नयाँ प्रणाली लागू हुँदै

काठमाडौं । राहदानी विभागले नयाँ प्रणाली (सिस्टम) कार्यान्वयन गर्न हाल सञ्चालनमा रहेको प्रणालीलाई स्थानान्तरण (माइग्रेसन) गर्ने भएकाले केही दिन राहदानी सेवा बन्द रहने जनाएको छ।

विभागका अनुसार असार २४ देखि २६ गतेसम्म जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत प्रदान गरिने राहदानी सेवा पूर्ण रूपमा बन्द हुनेछ।

यस्तै, राहदानी विभागबाट प्रत्यक्ष प्रदान गरिने राहदानी सेवा भने असार २५ र २६ गते दुई दिन बन्द रहनेछ।
विभागले असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको छ। सेवा लिनुपर्ने नागरिकलाई तोकिएको अवधिअघि वा नयाँ प्रणाली सञ्चालन भएपछि मात्र आवश्यक प्रक्रिया पूरा गर्न विभागले आग्रह गरेको छ।