देशभर मनसुन सक्रिय, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आइतबार पनि विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा औसतभन्दा दक्षिणतर्फ र पश्चिमी क्षेत्रमा औसत स्थानको आसपास रहेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भेगका धेरै स्थानमा तथा तराईका केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना छ। विशेषगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि अधिकांश प्रदेशमा बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातसमेत हुन सक्ने अनुमान छ। सुदूरपश्चिमका केही स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेकाले नदी, खोला, बाढी र पहिरोको जोखिमलाई ध्यानमा राखी सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।