एशियन पेन्ट्स नेपालको सञ्चालन आम्दानी ५ अर्ब ८९ करोड, २६% वृद्धि

आर्थिक खबर । नेपालको रङ बजारमा अग्रणी एशियन पेन्ट्स (नेपाल) प्राइभेट लिमिटेड ले सन् २०२५ मा उल्लेखनीय व्यावसायिक सुधार गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपाल का अनुसार कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ८९ करोड ८० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले बढी हो।
सन् २०२४ मा आर्थिक मन्दीका कारण आम्दानी ४ अर्ब ६७ करोड रुपैयाँमा खुम्चिएको थियो। बिक्री परिमाण वृद्धि र मूल्य समायोजनका कारण नाफा मार्जिन ९.१ प्रतिशतबाट बढेर १४.२ प्रतिशत पुगेको छ, यद्यपि सन् २०२२ को २१.५ प्रतिशतको ऐतिहासिक उच्च स्तरभन्दा अझै कम रहेको छ।
कम्पनीको वित्तीय आधार बलियो रहेको देखिन्छ। हाल नेटवर्थ ७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ, जसको ९९ प्रतिशत सञ्चित आम्दानीबाट बनेको हो र ७१ प्रतिशत नगद सञ्चितिमा छ। भारतीय माउ कम्पनी एशियन पेन्ट्स लिमिटेड को ५३ प्रतिशत स्वामित्व, बलियो ब्रान्ड र विस्तृत डिलर नेटवर्क कम्पनीका मुख्य सबल पक्ष हुन्।
मकवानपुरको हेटौँडामा रहेको प्लान्टबाट वार्षिक १ लाख मेट्रिक टनभन्दा बढी उत्पादन क्षमता रहेको कम्पनीले ४४ भन्दा बढी ब्रान्डका रङ उत्पादन गर्दै आएको छ। निर्माण क्षेत्रको उतारचढाव, कच्चा पदार्थको मूल्य र वैदेशिक मुद्राको जोखिम भने चुनौतीका रूपमा रहेका छन्।