धादिङ । नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर २ को ताङजोमाने तथा वडा नम्बर ३ का चौतारा र गैरा गाउँमा उम्मेदवार रामबहादुर भण्डारीलाई स्थानीयवासीले भव्य स्वागत गरेका छन्।
मौलिक सांस्कृतिक परम्पराअनुसार टीका, खादा र फुलमालाले सम्मान प्रकट गर्दै गाउँलेहरूले आत्मीय आतिथ्य दिएका थिए। ताङजो गाउँमा परम्परागत स्वादले भरिएको भुटेको मकै र गुन्द्रुकको छोपले अतिथिहरूलाई स्वागत गरिएको थियो। उम्मेदवार तथा नेताहरू पनि स्थानीय परिकारको स्वाद लिँदै मतदातासँग भलाकुसारीमा व्यस्त देखिएका थिए।
मतदातासँग संवाद गर्दै भण्डारीले जनताको माग, मुद्दा र समयसापेक्ष ऐन–कानुन निर्माणलाई पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता जनाए। “जनताले उठाएका समस्या समाधान गर्न कानुनी र नीतिगत सुधार आवश्यक छ। म निर्वाचित भए जनभावनाअनुसार काम गर्नेछु,” उनले भने।
उनले विशेषगरी जनयुद्धकालीन आधार इलाका सेमजोङको विकासलाई प्राथमिकतामा राख्ने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, सडक र रोजगारीका क्षेत्रमा ठोस योजना अघि सार्ने बताए। “सेमजोङले इतिहास बोकेको छ, अब समृद्धिको आधार इलाका बनाउने जिम्मेवारी हाम्रो हो,” उनको भनाइ थियो।
स्थानीयवासीहरूले सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, कृषि उत्पादनको बजारीकरण र युवालाई रोजगारी सिर्जना गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन्। गैरा गाउँका एक ज्येष्ठ नागरिकले “हामीलाई भाषणभन्दा काम चाहिएको छ, आधारभूत सेवा सहज भए युवापुस्ता बाहिरिनु पर्दैन,” भने।
चौताराका एक युवा प्रतिनिधिले पारदर्शिता र जवाफदेहितामा जोड दिन आग्रह गर्दै स्थानीय आवश्यकताअनुसार विकास योजना ल्याउनुपर्ने बताए।
कार्यक्रममा स्थानीय अगुवा, युवा तथा महिला समूहको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले भण्डारीले व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयनमा उतार्ने विश्वास व्यक्त गरेका छन्।






