उत्तरी धादिङमा भण्डारीको घरदैलो सम्पन्न, रुवीभ्याली–खनियाबासमा जनलहर

धादिङ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ का नेकपा उम्मेदवार राम बहादुर भण्डारीले उत्तरी धादिङका विभिन्न बस्तीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलोका साथै बृहत् आमसभा र साना–ठूला भेला आयोजना गर्दै उनले चुनावी अभियानलाई तीव्र बनाएका हुन्।

जनयुद्धको प्रमुख आधार मानिने रुवीभ्याली–५ लापामा आयोजित आमसभामा सयौँ स्थानीयको सहभागिता रहेको थियो। सहभागीहरूले भण्डारीलाई ‘तारा’ चुनाव चिन्हमा मतदान गरी जिताउने प्रतिबद्धता व्यक्त गरेका छन्।

रुवीभ्यालीकै सेर्तुङ, तिप्लिङ र चालिस क्षेत्रमा पनि भण्डारीको पक्षमा उत्साहजनक जनसहभागिता देखिएको अभियान टोलीले जनाएको छ। रुवीभ्यालीमा फागुन १०, ११ र १२ गते विशेष प्रचार अभियान सञ्चालन गरिएको थियो।

त्यस्तै खनियाबास गाउँपालिकाका विभिन्न वडा तथा बस्तीहरूमा पनि भण्डारीको चुनावी कार्यक्रम सम्पन्न भएको छ। खनियाबास–२ कलङम्रगमा आयोजित आमसभामा उल्लेख्य सहभागिता रहेको थियो भने खनियाबास–४ राउतेमा विशेष सभा सम्पन्न भएको थियो। खनियाबास–३ कुरीमा विशेष आमसभा तथा बृचेतलगायतका गाउँमा पनि जनसमर्थन प्राप्त भएको अभियान टोलीले जनाएको छ।

यसअघि गंगाजमुना गाउँपालिकामा पनि भव्य रूपमा चुनावी प्रचार–प्रसार सम्पन्न भइसकेको छ।

भण्डारीले आफ्नो निर्वाचन क्षेत्रका ७ स्थानीय तहमध्ये ५ गाउँपालिका र १ नगरपालिकामा प्रचार कार्यक्रम सम्पन्न गरिसकेको बताएका छन्। आज र भोलि नेत्रावती डबजोङ गाउँपालिकामा चुनावी कार्यक्रम गर्ने कार्यतालिका तय गरिएको छ।