काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक प्रचार–प्रसारको अवधि सुरु भएको छ। निर्वाचन कार्यतालिका अनुसार मतदानको मितिभन्दा १७ दिनअगाडिदेखि मात्र आमसभा, जुलुस, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार गर्न पाइने व्यवस्था लागू भएको हो।
यसैअनुसार राजनीतिक दल र उम्मेदवारहरूले फागुन १८ गते राति १२ बजेसम्म मात्र प्रचार–प्रसार गर्न पाउनेछन्। यस अवधिभित्र मतदातासँग भेटघाट, चुनावी कार्यक्रम तथा विज्ञापनसम्बन्धी गतिविधि गर्न सकिनेछ।
निर्वाचनको निष्पक्षता कायम राख्न आचारसंहिताको पूर्ण पालना गर्न आयोगले सबै दल तथा उम्मेदवारलाई आग्रह गरेको छ। आयोगले अनुगमनका लागि विशेष संयन्त्र परिचालन गरिसकेको जनाएको छ।
आचारसंहिता उल्लङ्घन भएमा सम्बन्धित पक्षसँग स्पष्टीकरण मागिने र प्रमाणका आधारमा चेतावनीदेखि जरिवाना तथा उम्मेदवारी खारेजसम्मको कारबाही हुन सक्ने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले उल्लङ्घनप्रति ‘शून्य सहनशीलता’ नीति अपनाइने बताएका छन्।
त्यसैगरी, चुनावी आमसभा वा मञ्च निर्माणमा लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले निर्वाचन कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ।
सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने पनि आचारसंहितामा उल्लेख छ। तोकिएको मापदण्डभित्र रहेर मात्र अनलाइन र पत्रपत्रिकामा विज्ञापन गर्न पाइनेछ।






