जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको उच्च सतर्कता

जापानमा सोमबार राति ११:१५ स्थानीय समयमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु भूमिगत करिब ५० किलोमिटर गहिराइमा थियो।

भूकम्पपछि प्रशान्त तटीय क्षेत्रका होक्काइडो, आओमोरी र इवाते प्रान्तहरूमा सुनामी चेतावनी जारी गरिएको छ। अधिकारीहरूले समुद्री छालहरू ३ मिटरसम्म अग्ला हुन सक्ने बताउँदै स्थानीयहरुलाई तटीय क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म कम्तीमा ३० जना घाइते भएका छन् भने हजारौं मानिसहरू घर छोडेर सुरक्षित स्थानतर्फ गएका छन्। स्थानीय अधिकारीहरूले आगामी दिनहरूमा थप शक्तिशाली भूकम्पको सम्भावना रहेको भन्दै कम्तीमा एक हप्तासम्म उच्च सतर्कता अपनाउन सुझाव दिएका छन्।

जापानका प्रधानमन्त्री साने ताकाइचीले जनतालाई घरायसी भूकम्प तयारीको पुनः मूल्यांकन गर्न आग्रह गर्दै भने,
“यदि भूकम्पको झट्का महसुस भयो भने तुरुन्तै सुरक्षित स्थानमा खाली हुन तयार रहनुहोस्।”

सुरक्षाका लागि करिब ९० हजार मानिसलाई आफ्नो घर खाली गर्न निर्देशन दिइएको सरकारी अधिकारीहरूले बताएका छन्।