धादिङ । नीलकण्ठ नगरपालिका–९ स्थित श्री प्रशन्न स्वास्थ्य आमा सहकारी संस्था लिमिटेडको ११औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष अम्विका दुवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा मुरलीभञ्ज्याङ स्वास्थ्य चौकीका पूर्वप्रमुख कृष्ण बद्री पौडेल, रेडियो नीलकण्ठका स्टेशन म्यानेजर रामकुमार थापा, समाजसेवी दयानाथ दुवाडी, पूर्व प्रहरी संगठनका अध्यक्ष नवराज दुवाडी, मुरलीभञ्ज्याङ साना किसान सहकारीका अध्यक्ष दुर्गा दवाडीलगायतको विशेष आतिथ्यता रहेको थियो।
सहकारीमा हाल ६६२ शेयर सदस्य रहेकामा १३ समूह मार्फत कार्यक्रम सञ्चालन हुँदै आएको छ। सहकारीले २६३ शेयर सदस्यलाई ऋण प्रवाह गरिरहेको तथा संस्थाको कुल पुँजी १ करोड ५० लाख ७ सय रुपैयाँ पुगेको जानकारी अध्यक्ष दुवाडीले प्रस्तुत गर्नुभयो।
मुख्य अतिथि ढुङ्गानाले सहकारीका महत्वपूर्ण सामाजिक गतिविधिमा नगरपालिका प्राविधिक सहयोगका साथ साझेदारी गर्न तयार रहेको बताउनुभयो। भौतिक तथा आर्थिक सहयोग कठिन भए पनि तालिम, गोष्ठी तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशेष अतिथि कृष्ण बद्री पौडेलले सहकारी बचत तथा ऋण मात्र होइन, स्वास्थ्य सचेतनालाई मूल उद्देश्य बनाएर स्थापना भएको भन्दै संस्थाले आफ्ना प्रारम्भिक उद्देश्यलाई नबिर्सन आग्रह गर्नुभयो। उहाँले आगामी दिनमा स्वास्थ्य–सम्बन्धी जनचेतना तथा सामाजिक सेवाका कार्यक्रम थप प्रभावकारी रूपमा सञ्चालन गर्न सुझाव दिनुभयो।
कार्यक्रममा सहकारीका व्यवस्थापक लक्ष्मी दुवाडीले आर्थिक प्रतिवेदन तथा सचिव सावित्रा कोइरालाले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।






