धादिङमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता असोज २४ मा हुने

Screenshot

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा आगामी असोज २४ गते धादिङबेसीको सिटी हलमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ।
कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

“युवा पुस्ताको चाहना : असल नेतृत्व र इमानदार राजनीति” भन्ने विषयमा हुने प्रतियोगितामा जिल्लाका सबै १३ पालिकाबाट ३२ जना विद्यार्थी प्रतिस्पर्धा गर्नेछन्।

कार्यक्रम संयोजक बद्री खतिवडाका अनुसार सहभागी विद्यार्थीहरूसँग सम्पर्क र अन्तिम तयारी पूरा भइसकेको छ। प्रमुख तथा विशेष अतिथिहरूलाई निमन्त्रणा पठाइसकिएको पनि बताइएको छ।

समाजका अध्यक्ष राजन खकुरालका अनुसार, प्रतियोगिताको उद्देश्य युवाहरूमा नेतृत्व क्षमताको विकास गर्नु र इमान्दार राजनीतिको महत्वबारे सचेतना फैलाउने हो।
प्रतियोगितामा उत्कृष्ट हुनेलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ —
प्रथमलाई रु.५० हजार, द्वितीयलाई रु.३० हजार, तृतीयलाई रु.२० हजार, चौथोलाई रु.१० हजार, र पाँचौंलाई रु.५ हजार दिइनेछ।

१३ पालिकाबाट चयन भएका विद्यार्थीहरूमा गल्छीका संगीता श्रेष्ठ र सक्षम नेपाल, त्रिपुरासुन्दरीका विवेक बन्जरा र सन्ध्या बिक, थाँक्रेका सम्बृदी रुपाखेती, सम्भव रुपाखेती, श्रीकृष्ण सुवेदी, धुनेबेशीका काजल बास्कोटा, रन्जिता तामाङ, श्रीब्मा खकुरेल लगायतका विद्यार्थी सहभागी हुनेछन्।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्। साथै प्रदेश सांसद, पूर्वमन्त्री, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षाकर्मी प्रतिनिधिहरूको उपस्थिति रहनेछ।

संस्थाका महासचिव बाबुकाजी भण्डारी र सचिव राजेन्द्र थपलियाले सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन्।