माओवादी केन्द्र धादिङ क्षेत्र नं. २(१) को भेला तथा प्रशिक्षण सम्पन्न

काठमाडौं । नेकपा (माओवादी केन्द्र) धादिङ क्षेत्र नं. २(१) द्वारा काठमाडौंमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभामुख अग्नीप्रसाद सापकोटा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रम संयोजक हरि ढुङ्गनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै सापकोटाले पार्टीले अब समाजवादको दिशामा अगाडि बढ्ने स्पष्ट मार्ग लिएको बताउनुभयो। उहाँले आगामी निर्वाचनमा माओवादी केन्द्रले जनताको साथमा दुई तिहाइ बहुमत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।

“परिवर्तन र जनताको पक्षमा लड्ने शक्ति माओवादी मात्र हो,” सापकोटाले भन्नुभयो। “हामी जनताको बलिदान र भरोसालाई समाजवादको यात्रामा परिणत गर्न प्रतिबद्ध छौं।”

उहाँले हालै पार्टी घटकहरूबीच भएको एकता प्रक्रिया र अन्य वामपन्थी दलहरूसँग भइरहेको संवादको जानकारी दिँदै, संगठनभित्र अनुशासन कायम राख्नुपर्ने उल्लेख गर्नुभयो। पार्टीको नाममा स्वतन्त्र रूपमा भेला वा बैठक गर्ने प्रवृत्तिलाई सह्य नहुने चेतावनी पनि उहाँले दिनुभयो।

कार्यक्रममा धादिङ जिल्ला इन्चार्ज पुष्प विक्रम मल्ल र केन्द्रीय सदस्य रामबहादुर भण्डारीले पनि प्रशिक्षण दिने क्रममा संगठनको एकता र अनुशासनमा जोड दिनुभयो।

सो अवसरमा ज्वालामुखि–काठमाडौं सम्पर्क समन्वय समिति गठन गरिएको छ, जसको अध्यक्षमा दिपक श्रेष्ठ चयन हुनुभएको छ। समितिमा १९ सदस्यीय कार्यसमिति गठन गरिएको छ।