संघर्षबाट सफलता, मेरो जीवन यात्रा: प्रदीप तामाङ- पर्यटन ब्यबसायी, रुवीभ्याली धादिङ

काठमाडौ । म धादिङ जिल्लाको एक दुर्गम गाउँ, सेर्तुङमा जन्मिएको एक साधारण परिवारको सन्तान हुँ। मेरो बाल्यकाल नेपाल–चीन सिमानामा पर्ने विकट हिमाली क्षेत्रमा बित्यो, जहाँ आधारभूत सुविधा र शिक्षाको पहुँच अत्यन्तै सीमित थियो। प्रारम्भिक शिक्षा सेर्तुङमै प्राप्त गरेँ भने, एसएलसी परीक्षामा नजिकैको बोऱाङ गाउँबाट सफलता प्राप्त गरें। त्यसपछि धादिङबेसीस्थित नीलकण्ठ उच्च माध्यमिक विद्यालयबाट राजनीति शास्त्रमा स्नातक अध्ययन सम्पन्न गरें।

त्यो समय हाम्रो समाजमा छोरीहरूले विद्यालय जानु हुँदैन भन्ने सोच बलियो थियो। महिलाहरूलाई घरधन्दा, घाँसदाउरा र चुलोचौकोमा मात्र सीमित गरिएको थियो। यस्तो रूढिवादी सोच र चरम गरिबीका बीच शिक्षाको यात्रा सहज थिएन। सामान सस्तो भए पनि दैनिक खर्च धान्न हम्मे–हम्मे पर्थ्यो। मैले काम गर्दै पढाइ अगाडि बढाएँ र सँगसँगै परिवारको जिम्मेवारी पनि सम्हालें।

मेरो पहिलो गुरु मेरा बुबा–आमा नै हुनुहुन्छ। अभावका बीच पनि उहाँहरूले मलाई इमान, अनुशासन र संघर्ष गर्न सक्ने साहस सिकाउनुभयो। उहाँहरूको माया, प्रेरणा र त्यागबिना आज म यहाँ पुग्न सक्दिनथें।

उच्च शिक्षा पछि म रोजगारीको खोजीमा काठमाडौं आएँ। यहाँ एक पत्रिका कार्यालयमा सहायकको रूपमा काम पाएँ। तर त्यो अस्थायी जागिरले दीर्घकालीन भविष्य सुनिश्चित गर्दैन भन्ने बुझेपछि मैले पर्यटन क्षेत्रमा सम्भावना खोज्न थालेँ। गाउँकै एक दाइको कार्यालयमा कामको आशामा धाइरहें। तर आफन्तहरूको सीमित सोच र भित्री जालोले अवसर पाउन सजिलो भएन।

त्यहीबीच गाउँकै दिदीको चिया पसलमा एकजना ‘कुक’ सँग भेट भयो। उहाँले भोलिपल्ट ट्रेकिङमा भारी बोक्ने मान्छे चाहिएको बताए। दिदीले मलाई सिफारिस गरिदिनुभयो र त्यसैदिन म कञ्चनजङ्घा पदयात्रामा जापानी पर्यटकहरूसँग किचन स्टाफको रूपमा सहभागी भएँ। म्याट्रेस, स्टोभ जस्ता सामग्री बोकेर अगाडि–अगाडि हिँड्नुपर्ने हुन्थ्यो। कठ्याङ्ग्रिने चिसो, उकालो–ओरालो र थकाइसँग जुध्दै २६ दिने यात्रा पूरा गरें। चिसोले हात फाटे, ओठ फुटेर रगत बग्न थाल्यो। ती सबै अनुभवहरूले मलाई जीवनप्रति अझै दृढ बनाउँदै लगे।

आज ती संघर्षहरू नै मेरो बलको आधार बनेका छन्। पर्यटन क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभवसहित म हाल हाइकिङ इन हिमालय प्रा.लि. (Hiking in Himalaya Pvt. Ltd.) को व्यवस्थापकको रूपमा कार्यरत छु। पर्यटकहरूलाई नेपालको हिमाली सौन्दर्य, संस्कृति र जीवनशैली अनुभव गराउनु नै मेरो प्रमुख उद्देश्य हो।

गरिबी, पीडा, संघर्ष र मेरा बुबा–आमाको शिक्षाले नै आजको म बनाएको हो। ती सबै चुनौतीहरूले नै मलाई जीवनमा अगाडि बढ्न प्रेरणा दिए। यही मेरो जीवन यात्रा हो — संघर्षबाट सफलतासम्मको, जसले मलाई आत्मगौरव र प्रेरणाको अनुभूति दिलाएको छ।