मलको अभाव नहुने कृषि मन्त्री अधिकारीको दाबी

काठमाडौँ । देशभर मलको अभाव हट्ने कृषि मन्त्रालयले जनाएको छ। शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी भएका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले शनिबारदेखि बजारमा मलको कमी नहुने बताएका हुन्।

उनका अनुसार हालसम्म १ लाख १० हजार टन मल नेपाल भित्रिसकेको छ र देशभरका ३७ स्थानमा रहेको गोदाममा पठाउने काम तीव्र गतिमा भइरहेको छ। उनले जानकारी दिँदै भने, “धेरैजसो स्थानमा मल लोड भइरहेको छ। भोलि बेलुकासम्म सबै गोदाममा मल पुग्नेछ र त्यसपछि मलको समस्या रहँदैन।”

मन्त्री अधिकारीले कृषि मन्त्रालय अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र स्थानीय तहमार्फत मात्र बजेट विनियोजन हुने जानकारी पनि दिएका छन्।

चालु आर्थिक वर्षमा सरकारले मलका लागि २७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। तर, योजनाको रकम कटौती भएर १ अर्ब ८२ करोड रुपैयाँ थप गरिएकाले आगामी वर्ष मलको समस्या नदोहरिने मन्त्री अधिकारीले बताएका छन्।

पछिल्ला वर्षहरूमा मल अभावका कारण किसानलाई खेतीपातीमा समस्या हुँदै आएको थियो। तर, मन्त्री अधिकारीको दाबीअनुसार यस वर्ष मलको सहज आपूर्ति हुनेछ।