धादिङ । नीलकण्ठ-३ स्थित बालमन्दिर माध्यामिक विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक परीक्षामा शिक्षक र विद्यालय प्रशासनको गम्भीर लापरबाहीले २४ जना एसईई परीक्षार्थीको समग्र नतिजामा ठूलो असर परेको छ।
विद्यालयले ५० पूर्णाङ्कमा मुल्यांकन गर्नुपर्ने प्रयोगात्मक परीक्षा २५ पूर्णाङ्कमै गरेर परीक्षा बोर्डमा पठाएपछि सबै विद्यार्थीको कम्प्युटरमा ‘C’ र ‘C+’ मात्र आएको छ।
सबै विषयमा A+ ल्याएका पहरेचौताराका आयुष भट्ट पनि GP 4 पाउने अवसरबाट बञ्चित भए। अभिभावकहरू आक्रोशित छन्। विषय शिक्षक सम्पर्क बाहिर छन् भने प्रधानाध्यापकले गल्ती स्वीकार गर्दै पुनरावलोकन प्रक्रिया थालिएको बताएका छन्।
यो घटना विद्यालय, शिक्षक र प्रशासनको लापरबाही कति घातक हुन्छ भन्ने उदाहरण हो। शिक्षा मन्त्रालय र परीक्षा नियन्त्रण कार्यालयले तत्काल हस्तक्षेप गरेर विद्यार्थीको भविष्य जोगाउनुपर्छ। यस्ता गम्भीर लापरबाही गर्नेहरूलाई कडा कारवाही हुनैपर्छ।
स्रोत : कान्तिपुर टेलिभिजन