धादिङ अस्पतालमा थपिए दुई हेमो डायलासिस मेसिन: मृगौला रोगीलाई राहत हुने

धादिङ । धादिङ अस्पतालमा मृगौला रोगीहरूका लागि राहत हुने गरी थप २ वटा नयाँ हेमो डायलासिस मेसिन जडान गरिएको छ।

बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्राप्त यी मेसिनले असार १६ गतेदेखि सेवा विस्तार गर्ने तयारी भएको छ।

हालसम्म अस्पतालमा ५ वटा मेसिनमध्ये २ वटा बिग्रिएर ३ वटा मात्रै सञ्चालनमा थिए। जसका कारण २२ जना बिरामीले सेवा लिइरहेका र २६ जना प्रतीक्षामा रहेका थिए।

नयाँ मेसिनले १० जना प्रतीक्षारत बिरामीलाई तत्काल सेवा दिन सकिने अस्पतालका निमित्त निर्देशक डा. गगन अधिकारीले जानकारी दिए।

२०७९ साउन २६ बाट सुरु भएको डायलासिस सेवाबाट अब मृगौला पीडित बिरामीलाई सेवा पाउन सजिलो हुने अस्पतालले जनाएको छ।