इरान आक्रमणमा अपेक्षाकृत सफलता पाएको अमेरिकी ठहर

अन्तर्राष्ट्रिय खबर । अमेरिकाले इरानका आणविक केन्द्रहरूमा आक्रमण गरी महत्वपूर्ण स्थानमा क्षति पुर्‍याएको जनाएको छ। अमेरिकी रक्षा मन्त्रालयका अनुसार आक्रमण सफल भएको भए पनि यसको सम्पूर्ण प्रभाव पत्ता लगाउन केही समय लाग्ने छ।

‘अपरेसन मिडनाइट ह्यामर’ नाम दिइएको उक्त कारबाहीमा इरानको फोरडोह र नातान्ज क्षेत्रमा बङ्कर ब्लस्टर बम प्रयोग गरिएको र इस्फाहान क्षेत्रमा टोमाह्वाक मिसाइल प्रहार गरिएको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन्।

इरानसँग आणविक हतियारको क्षमता छ कि छैन भन्ने यकिन गर्न कठिन भएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षा मन्त्री पिटर हेगसेथले इरानको आणविक हतियार विकास योजना रोकिएको दाबी गरेका छन्।

यता इजरायलका राष्ट्रपति आयज्याक हेरगोजले भने आक्रमण कडा भएको स्वीकार गरे पनि यसको अन्तिम नतिजाबारे पक्का भन्न नसकिने बताए।

यस घटनापछि इरान र अमेरिका तथा इजरायलबीचको सम्बन्ध थप चिसिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ।