रविको साढे ५ हजार शब्दको पत्र सार्वजनिक : जीबी र छबि बारे सय शब्द

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा साढे ५ हजार शब्दको लामो पत्र सार्वजनिक गरेका छन्। हाल रुपन्देही जिल्ला कारागार (भैरहवा) मा रहेका लामिछानेले उक्त पत्रमार्फत आफूले सहकारी ठगी प्रकरण, राजनीति यात्रा र व्यक्तिगत जीवनका प्रसंग उल्लेख गरेका छन्।

पत्रमा उनले गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई र पूर्व डीआईजी छबिलाल जोशी को उल्लेख खासै नगरेका छन्। यी दुई पात्रबारे उनले झन्डै सय शब्द मात्र खर्चेका छन्।

रविले पत्रमा लेखेका छन्, “एकपटक पूर्वडीआईजी छबिलाल जोशीको आग्रहमा म जीबी राईसँग भेटिएँ। उनीहरूले ठूलो लगानीमा गुणस्तरीय टेलिभिजन खोल्दै थिए। म समाचार र कार्यक्रम हेर्ने, राईले आर्थिक जिम्मेवारी लिने भनेर लिखित सम्झौता गरियो। उक्त सम्झौतामा जीबी राई, म र छबिलाल जोशीले हस्ताक्षर गरेका थियौँ।”

२०७७ फागुन ११ गते उद्घाटन भएको ग्यालेक्सी फोर के टिभीमा रवि प्रबन्ध निर्देशक बनेका थिए। विभिन्न सहकारीबाट संकलित रकम टिभीमार्फत अपचलन भएको आरोप उनीमाथि लागेको छ। तर रविले आफूले कुनै आर्थिक जिम्मेवारी नबोकेको दाबी गर्दै आएका छन्।

उक्त टिभीमा आबद्ध हुनु अघि आफूले जीबी राई वा उनका आफन्तसँग कुनै सम्पर्क नरहेको पनि उनले पत्रमा प्रष्ट पारेका छन्। रवि २०७९ असार १ मा ग्यालेक्सी टिभीबाट राजीनामा दिई राजनीतिमा होमिएका थिए।

यसै पत्रमार्फत रविले आफ्नो जीवनका संघर्ष, राजनीतिक यात्रा र जेल जीवनको अनुभव समेत उल्लेख गरेका छन्।