नीलकण्ठ नगरपालिका द्वारा १ अर्ब २२ करोड ९३ लाखको बजेट सार्वजनिक

धादिङ । नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल १ अर्ब २२ करोड ९३ लाख ५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरसभाको १७औँ अधिवेशनमार्फत बजेट र नीति कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख भीमप्रसाद ढुंगानाले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन लगायतका जनजीविकासँग जोडिएका क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

नगरप्रमुख ढुंगानाले नगरको समृद्धि र दिगो विकासलाई लक्षित गर्दै प्रस्तुत गरिएको यो योजना केवल कागजी दस्तावेज नभई व्यवहारमै लागू हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भने, “हामी शिक्षित, सशक्त र समुन्नत नीलकण्ठ बनाउने दिशामा एक कदम अघि बढेका छौँ।”

प्राथमिकतामा यी कार्यक्रमहरू

नीति तथा कार्यक्रममा नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ‘एक वडा, एक उत्पादन’ अभियान, व्यवसायिक कृषि तथा पशुपालन, घरेलु तथा लघु उद्योग प्रवर्द्धन, कालोपत्रे सडक विस्तार, सबै घरमा खानेपानी सुविधा, गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवा, नमूना श्रोत विद्यालयको प्रवर्द्धन, युवा स्वरोजगार तथा स्टार्टअप व्यवसाय प्रवर्द्धन जस्ता कार्यक्रम समावेश गरिएको छ।

शिक्षामा गुणस्तरीयता बढाउन नमूना विद्यालय सञ्चालन, शिक्षक मूल्यांकन, पोषण सामग्री वितरण, छात्रवृत्ति, प्राविधिक शिक्षा विस्तार तथा अनुसन्धानवृत्तिको व्यवस्था गरिने छ।

स्वास्थ्य क्षेत्रमा सबै वडामा स्वास्थ्य संस्था, ९८ प्रकारका निःशुल्क औषधि, मोबाइल स्वास्थ्य सेवा, टेलिमेडिसिन, योग तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

कृषि क्षेत्रमा माटो परीक्षण, उपयुक्त बाली सिफारिस, अनुदान र बजारीकरणमा जोड दिइनेछ। पशुपालन र घरेलु उत्पादनलाई व्यवसायिकरण गर्ने योजना पनि रहेको छ।

सडक, पर्यटन र पूर्वाधारमा समेत फड्को

नगरका सबै वडामा कालोपत्रे सडक सञ्जाल विस्तार, खानेपानी योजना, फोहोर व्यवस्थापन, खुला व्यायामशाला, नमूना बस्ती विकास र भू–उपयोग नीति लागू गरिनेछ।
पर्यटन प्रवर्द्धनका लागि होमस्टे, धार्मिक तथा प्राकृतिक गन्तव्यको विकास, स्थानीय संस्कृति संरक्षण, खेलकुद पूर्वाधार निर्माण तथा कला–साहित्य प्रवर्द्धनका कार्यक्रम अघि सारिनेछ।

समावेशी कार्यक्रम र प्रशासन सुदृढीकरण

महिला, बालबालिका, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, दलित, आदिवासी र सीमान्तकृत समुदायका लागि लक्षित विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
शान्ति सुरक्षा, पारदर्शिता, सूचना सञ्चार प्रणाली सुधार, गुनासो सुन्ने संयन्त्र प्रभावकारी बनाइने र विपद् व्यवस्थापन योजना कार्यान्वयन गरिने उल्लेख छ।

चालु र पूँजीगत खर्च

सार्वजनिक बजेटअनुसार चालु खर्चतर्फ ८७ करोड २७ लाख ५३ हजार र पूँजीगत खर्चतर्फ ३५ करोड ६५ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

नगर उपप्रमुख दीपक विश्वकर्माले बजेट सार्वजनिक गर्दै संविधानका निर्देशिका, संघीय आर्थिक नीति, दिगो विकास लक्ष्य, विषयगत क्षेत्रका आवश्यकता र नगरवासीको सुझावलाई आधार मानेर बजेट निर्माण गरिएको जानकारी दिनुभयो।

उहाँले थप्नुभयो, “समाजमा न्याय र समानताको आधारमा सेवा प्रवाह गर्न, शिक्षा–स्वास्थ्य पहुँच वृद्धि गर्न, पूर्वाधार बलियो बनाउने तथा वातावरण सन्तुलन कायम राख्न यो बजेटले सक्षम र समावेशी स्थानीय शासनको आधार तयार गर्नेछ।”