धादिङ बागमती प्रदेश कै पहिलो ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण’

धादिङ । धादिङ जिल्लाले बागमती प्रदेशमै पहिलो पटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण प्राप्त गरेको छ। बुधबार धादिङबेसीमा आयोजित एक विशेष समारोहका बीच बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले धादिङलाई प्रमाणीकरण प्रदान गर्दै औपचारिक घोषणा गरेको हो।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री किरण थापाले धादिङ जिल्लाले खोप अभियानमा देखाएको सक्रियता, समर्पण र नेतृत्वको प्रशंसा गर्दै अन्य जिल्लाका लागि पनि प्रेरणादायी उदाहरण पेश गरेको बताउनुभयो। मन्त्री थापाले तीनै तहको सरकारबीच सहकार्य विना यस्ता दिगो उपलब्धि सम्भव नहुने उल्लेख गर्नुभयो।

उहाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यकता र समानताको आधारमा बजेट विनियोजन गर्दै आएको स्पष्ट पार्दै, स्थानीय स्रोतको उपयोग, स्वामित्व र जनसहभागिता नै खोप सुनिश्चितताको मूल आधार भएको बताउनुभयो।

“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता — पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित सम्पन्न कार्यक्रममा सरोकारवाला निकाय, स्थानीय पालिकाका प्रमुख, स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्यकर्मीहरूले सामूहिक प्रतिबद्धता जनाएका थिए।

सो अवसरमा खोप सेवा विस्तार, नीतिगत निर्णय, स्थानीय नेतृत्व र समर्पणको उच्च मूल्याङ्कन गर्दै उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षता रहेको थियो। उहाँले जिल्लाको स्वास्थ्य अवस्थाको प्रगति र योगदानमाथि प्रकाश पार्दै महिला स्वास्थ्य स्वयंसेविकालाई थप प्रोत्साहनस्वरूप सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

आयोजकहरूका अनुसार यो कार्यक्रमले धादिङमा स्वास्थ्य सेवामा स्थानीय स्वामित्व, समावेशी सहभागिता र दिगो सहकार्यको अभ्यास स्थापित भएको प्रमाणित गरेको छ। अब यो उपलब्धिलाई अन्य जिल्लामा पनि विस्तार गरी समान प्रतिबद्धता र समन्वयमार्फत पूर्ण खोप सुनिश्चितताको अभियान अघि बढाउने अपेक्षा गरिएको छ।