लापा ठुलो गाउँमा १२ दिने सिलाइ बुनाइ तालिम सम्पन्न

धादिङ । रुबी भ्याली गाउँपालिका वडा नम्बर ५ लापामा १२ दिने सिलाइ बुनाइ सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ। श्री लापा कुकु सामुदायिक सिकाइ केन्द्रको आयोजना र रुबी भ्याली गाउँपालिकाको आर्थिक सहयोगमा उक्त सिप विकास तालिम सञ्चालन गरिएको हो।

तालिम समापन कार्यक्रममा सिकाइ केन्द्रका अध्यक्ष म्लङगे तामाङको अध्यक्षता, वडा अध्यक्ष रम्बा तामाङको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका शिक्षा अधिकृत चिरञ्जीवी ढकाल र स्रोत व्यक्ति उत्तमलाल तामाङको विशेष उपस्थिति रहेको थियो।

समापन समारोहमा अतिथिहरुले सहभागी महिलाहरूलाई प्राप्त सिपलाई व्यवहारमा उतारी आत्मनिर्भर बन्न प्रेरित गर्दै यस्ता तालिमले ग्रामीण भेगका महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।

१२ दिनसम्म सञ्चालित तालिममा स्थानीय महिलाहरूले सिलाइ बुनाइका आधारभूत सीप सिकेका थिए।