दामोदर कुण्ड पदयात्रा: साहस, श्रद्धा र हिमाली सौन्दर्यको संगम

विपिनप्रसाद गुरागाईं । हिमाली धार्मिक पर्यटनको दृष्टिले महत्वपूर्ण मानिने मुस्ताङ जिल्लाको पवित्र तीर्थस्थल दामोदर कुण्डमा नौ सदस्यीय यात्रु टोलीले साहसिक र आध्यात्मिक यात्रा सम्पन्न गरेको छ। विपिनप्रसाद गुरागाईं नेतृत्वको उक्त टोलीले नौ दिनसम्म कठिन हिमाली पदयात्रा गर्दै दामोदर कुण्ड पुगेको हो।

काठमाडौँको वनस्थलीबाट यात्रा सुरु गरेको टोली बेनी, तातोपानी, लेते, कागबेनी, मुक्तिनाथ, लोमान्थाङ हुँदै दामोदर कुण्डसम्मको अविस्मरणीय यात्रा तय गरेको थियो। पदयात्राका क्रममा मुक्तिनाथको दर्शन, मुस्ताङ दरबार, चाइना बोर्डर कोरला नाका, झोङ गुफा लगायतका ऐतिहासिक तथा धार्मिक स्थलहरुको समेत अवलोकन गरिएको यात्रु विपिनप्रसाद गुरागाईंले जानकारी दिए।

कठिन हिमाली बाटो र रोमाञ्चक घोडा यात्रा

चराङ गाउँबाट दामोदर कुण्डतर्फको यात्रा भने अझै कठिन थियो। उकालो, भिर, चिसो हावा, हिमाली अप्ठ्याराहरू पार गर्दै टोलीले भिमाठाटी, भूतखोला, ५२०० मि. र ५७०० मि. उचाइको पास पार गर्दै दामोदर कुण्ड पुगेको हो। यात्राका क्रममा घोडा र पैदल दुबै माध्यमको प्रयोग गरिएको थियो। बाटोमा घोडा तर्सने, उफ्रने जस्ता जोखिम पनि यात्रुहरूले भोग्नु परेको थियो।

धार्मिक महत्वले भरिएको पवित्र स्थल

साढे चार हजार मिटरको उचाइमा अवस्थित दामोदर कुण्ड हिन्दू धर्मावलम्बीका लागि अत्यन्त पवित्र स्थल मानिन्छ। शास्त्र अनुसार यहाँ स्नान गरे पितृको उद्धार तथा मोक्ष प्राप्त हुने जनविश्वास छ। दामोदर कुण्डमा स्नान गर्दै यात्रुहरूले पूजा–अर्चना तथा मन्त्रोच्चारण गरेका थिए। तीन कुण्डमध्ये तामाकुण्ड, दूधकुण्ड र दामोदर कुण्ड रहेको छ। कुण्डको पानी अत्यन्त चिसो र निर्मल रहनुका साथै वरिपरि धवलागिरी, नीलगिरि र दामोदर हिमालको मनोरम दृश्यले यात्रुहरूको मन लोभ्याएको थियो।

पौराणिक कथा र धार्मिक आस्थाको केन्द्र

दामोदर कुण्डको उत्पत्ति र महत्त्व कृष्ण भगवानसँग सम्बन्धित रहेको पौराणिक कथा रहेको छ। कुबेरका पुत्रहरू नलकूवर र मणिग्रीवले नारद ऋषिबाट श्राप पाई वृक्षमा परिणत भई बालकृष्णको लीलामा मुक्ति पाएको प्रसंग दामोदर कुण्डसँग जोडिएको छ।

स्मरणीय बन्यो यात्रा

सप्तदिनको अप्ठ्यारो यात्रा सम्पन्न गरेर टोली काठमाडौँ फर्किएको छ। यात्रामा अर्जुन तामाङ (स्काई फक्स ट्राभल्स)को विशेष व्यवस्थापन र बद्री अर्यालको संयोजनमा सफल बनेको टोलीले दामोदर कुण्डको सौन्दर्य, कठिनाइ र धार्मिक अनुभूतिको स्वाद चाखेको बताइएको छ।

टोलीका सदस्यहरू मदन अर्याल, हरि अर्याल, नवराज अर्याल, राजु महर्जन, अशोक बोहोरा, कृष्ण थापा र दिनेश दुलालले यस्तो साहसिक यात्रा गर्नु अत्यन्त सुखद र गर्वको विषय भएको बताए।

“हामीलाई शारीरिक कठिनाइ त पर्‍यो, तर दामोदर कुण्ड पुगेपछि त्यो सबै बिर्सिएर आध्यात्मिक सुख अनुभूति गर्यौं,” टोलीका एक सदस्यले बताए।

धार्मिक तथा साहसिक पर्यटनको गन्तव्यका रूपमा दामोदर कुण्ड यात्राले हिमाली सौन्दर्य, संस्कार र आस्थाको गहिरो अनुभूति दिने पुष्टि गरेको छ।