त्रिपुरासुन्दरी गाउँपालिकामा ५ दिने मौरीपालन सम्बन्धि तालिम सम्पन्न

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मा सञ्चालन गरिएको ५ दिने मौरीपालन तालिम आइतबार एक कार्यक्रमकाबीच सम्पन्न भएको छ।

गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत सञ्चालित उक्त तालिम गाउँपालिका उपाध्यक्ष देबराज धरेल र वडा अध्यक्ष कमल ब. थापाको विशेष उपस्थितिमा समापन गरिएको हो।

स्थानीय महिलाहरूलाई स्वरोजगार र आर्थिक सशक्तिकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले सञ्चालित तालिममा मौरीपालनसम्बन्धी आधारभूत ज्ञान, मौरीको हेरचाह, घार व्यवस्थापन, मह संकलन र बजार व्यवस्थापन सम्बन्धी विषयमा जानकारी दिइएको थियो।

समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष धरेलले स्थानीय महिलाहरूलाई स्वरोजगारमुखी बनाउने उद्देश्यले गाउँपालिकाले यस्ता तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले भविष्यमा पनि महिला सशक्तिकरण तथा रोजगारी सिर्जनाका कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिवद्धता जनाउनुभयो।

त्यसैगरी वडा अध्यक्ष थापाले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै गाउँमा नै रोजगारी सिर्जना गर्न मौरीपालनजस्ता व्यावसायिक तालिम उपयोगी हुने बताउनुभयो।