धादिङ । गजुरीस्थित श्री भैरव गण सिं.सं २ मा ९ महिने कठिन सैन्य आधार तालिम सफलतापूर्वक पूरा गरेका ९६ जना युवाहरु शुक्रबार आयोजित दलेल कवाज समारोहसहित नेपाली सेनामा सिपाही पदमा समावेश भएका छन्।
कार्यक्रममा मध्य पृतना हेटक्वाटरका पृतनापति उपरथी हरेन्द्र पाठकले दलेल कवाजको निरीक्षण गर्नु भएको थियो। गणपति असिम श्रेष्ठका अनुसार एक सय पाँच जना भर्ना भएकामा ९६ जना मात्रै तालिम पूरा गर्न सफल भएका हुन्।
रुपन्देहीका १२ युवाहरुको एक साथ तालिम
९६ जना मध्ये १२ जना रुपन्देही जिल्लाको कोटहिमाई गाउँपालिकाका युवाहरु हुन्। उनीहरुले एकै साथ भर्ना भएर तालिम पूरा गरी देशसेवामा समर्पित हुने अवसर पाएका छन्। बैदेशिक रोजगारीको मोह त्यागेर आफ्नै देशमा सेवा गर्ने अभिलाषाले उनीहरुलाई नेपाली सेनामा भर्ना हुन प्रेरित गरेको हो।
अभिभावकको गर्व र सन्देश
सैनिक दीक्षान्त समारोहमा अभिभावकलाई समेत निम्त्याइएको थियो। अभिभावक कृष्णकुमार कौशलले आफ्ना सन्तानले देशमै रहेर सेवा गर्नु गर्वको विषय भएको बताउँदै अन्य युवाहरुलाई पनि नेपालमै केही गर्न प्रेरणा लिन सुझाव दिनुभयो।
तालिम पूरा गरेका सिपाहीहरु अब नियमित डिउटीमा खटिनेछन्। गणपति श्रेष्ठका अनुसार कठिन तालिमपछि उनीहरु अनुशासित, संगठित र योग्य सिपाहीको रूपमा तयार भएका छन्।
सेनामा जागिर पाउनु गर्वको कुरा
नेपाली सेनामा समावेश भई मातृभूमिको सेवा गर्ने अवसर पाउनु आफ्नैमा गौरवको विषय भएको सहभागीहरुको अनुभव छ।