धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकामा दुई दिने शैक्षिक सम्मेलन सम्पन्न भएको छ। गाउँपालिकाको वडा नं. ३ स्थित श्री च्याम्रादेवी माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रबार सुरु भएको सम्मेलन शनिबार ५८ बुँदे प्रतिबद्धता पत्र जारी गर्दै सम्पन्न भएको हो।
‘सक्षम शिक्षक, स्तरीय शिक्षा, परिष्कृत सरकार, सार्वजनिक शिक्षा र सबलीकरण सहितको शैक्षिक पूर्वाधार, रुबीभ्याली गाउँपालिकाको आधार’ भन्ने मूल नारासहित सम्मेलन आयोजना गरिएको थियो।
सम्मेलनमा विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, राजनीतिक दल र जनप्रतिनिधिबीच शैक्षिक गुणस्तर सुधारको विषयमा समूहगत छलफल गरिएको थियो। छलफलबाट प्राप्त सुझाव र धारणा समेटेर ५८ बुँदे घोषणापत्र सार्वजनिक गरिएको छ।
गाउँपालिकाका अध्यक्ष राम सिं तामाङले सबै सरोकारवालाको साझा प्रयासबिना शैक्षिक गुणस्तर अभिवृद्धि सम्भव नभएको बताउँदै, ‘हामीसँग चुनौती धेरै छन्, तर साझा प्रयासबाट हामी अघि बढ्न सक्छौं,’ भने।
त्यसैगरी उपाध्यक्ष फेलामा तामाङले पछडिएको गाउँपालिकाका रुपमा रहेको रुबीभ्यालीलाई चौतर्फी आक्रमणबीच पनि अगाडि बढाउन आफूहरू लागिपरेको बताए।
सम्मेलनमा नीलकण्ठ बहुमुखी क्याम्पसका प्राध्यापक डा. नविनबन्धु पहाडीले शिक्षक नै शैक्षिक गुणस्तर सुधारको पहिलो जिम्मेवार भएको बताउँदै, ‘शिक्षक इमानदार र सक्षम हुन जरुरी छ। सूचना प्रविधिको दक्षता पनि समयको माग हो,’ भने।
शिक्षाविद् आर के ढुङ्गानाले विद्यालयको युनिक सेलिङ पोइन्ट (USP) पहिचान गरेर योजना बनाउनुपर्ने सुझाव दिए। ‘नीति बनेर मात्रै हुँदैन, कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना चाहिन्छ,’ उनले भने।
सम्मेलनमा प्रधानाध्यापक, शिक्षक तथा गाउँपालिकाका स्रोतव्यक्तिहरूले विद्यालय र गाउँपालिकाको समग्र शैक्षिक तथा भौतिक अवस्थाको प्रतिवेदन समेत प्रस्तुत गरेका थिए।
५८ बुँदे प्रतिबद्धता पत्रमा शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, राजनीतिक दल र गाउँपालिकाको भूमिकालाई उल्लेख गर्दै शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।