रुवीभ्यालीको शैक्षिक गुणस्तर सुधार गर्न २ दिने बृहत ‘शैक्षिक सम्मेलन’ हुने

धादिङ । धादिङको रुवीभ्याली गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तरीय सुधारका लागि २ दिने बृहत शैक्षिक सम्मेलन गर्ने भएको छ।

गाउँपालिकाका अध्यक्ष रामशिह तामाङका अनुसार आगामी जेठ २३ र २४ गते हुने सम्मेलनमा स्थानीय शिक्षक, अभिभावक, विद्यार्थी, शिक्षा सरोकार निकायका प्रतिनिधि तथा विज्ञहरूको सहभागिता रहनेछ।

सम्मेलनमा गाउँपालिकाको शिक्षा क्षेत्रको वर्तमान अवस्था, सुधारका पक्ष, समस्या र समाधानका उपायबारे छलफल गरिनेछ। साथै, सहभागीहरूबाट प्राप्त सुझाव र विज्ञहरूको परामर्शका आधारमा नयाँ शैक्षिक नियम तथा मौसदा निर्माण गरिने अध्यक्ष तामाङले जानकारी दिनुभयो।

गाउँपालिकाले शिक्षा क्षेत्रमा देखिएका कमजोरी, चुनौती र सम्भावनाबारे प्रत्यक्ष सुझाव लिने र दीर्घकालीन सुधार योजना तयार पार्ने तयारी गरेको छ।

गाउँपालिकाले सबै शिक्षक, अभिभावक, विद्यार्थी, सरोकारवाला तथा स्थानीयवासीलाई कार्यक्रममा सहभागी भई आफ्नो सुझाव र सल्लाह दिन अनुरोध समेत गरेको छ।

गाउँपालिकाले आशा व्यक्त गरेको छ कि यो सम्मेलनले शिक्षा क्षेत्रको गुणस्तरीय सुधारमा महत्वपूर्ण भूमिका खेल्नेछ।