काठमाडौंमा चौथो राष्ट्रिय कुरास प्रतियोगिता हुने

काठमाडौं । नेपाल कुरास संघको आयोजनामा चौथो राष्ट्रिय कुरास प्रतियोगिता यहीँ जेष्ठ १५ र १६ गते राजधानीको नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा हुने भएको छ।

दुई दिने उक्त प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरु सहभागी हुनेछन्। प्रतियोगितामा २२ तौल समूहमा सिनियर र जुनियरतर्फ छुट्टाछुट्टै छनोट गर्दै प्रतिस्पर्धा गरिने नेपाल कुरास संघका सदस्य सुरेश भट्टले जानकारी दिनुभयो।

भट्टका अनुसार प्रतियोगितामा कुल २२० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। साथै, विभागीय टिमका खेलाडीहरुले समेत सहभागिता जनाउनेछन्। “तीन विभागीय खेलाडीहरुको पनि उपस्थिति रहने नियम अनुसार यो प्रतियोगिता अझ प्रतिस्पर्धात्मक हुनेछ,” उहाँले बताउनुभयो।

प्रतियोगितासँगै कोच र रेफ्री सेमिनारसमेत सञ्चालन गरिने जनाइएको छ। नेपाली मार्सल आर्ट्स खेलकुदको विकास र लोकप्रियताका लागि यस किसिमका प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने नेपाल कुरास संघले विश्वास लिएको छ।