आज गणतन्त्र दिवस, देशभर विविध कार्यक्रम गरि मनाइदै

काठमाडौं । नेपालमा आज अठारौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। २०६५ साल जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि कायम निरंकुश राजतन्त्रको अन्त्य गर्दै देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

त्यस ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ। आज राजधानीको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीपरिषद सदस्य, सुरक्षा निकाय प्रमुखहरू र विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ।

कार्यक्रममा सहादत प्राप्त सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै, गणतन्त्र स्थापनामा योगदान दिने अग्रजको स्मरण गरिएको छ।

देशभर सरकारी कार्यालय, संघ-संस्था, विद्यालय र स्थानीय तहहरूमा पनि विविध कार्यक्रम, दौड, सांस्कृतिक प्रस्तुति, कविता, चित्रकला तथा विचार गोष्ठीको आयोजना गरिएको छ।

नेताहरूले आजको दिन लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्दै, जनताको अधिकार र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अठार वर्ष पुग्दासम्म पनि मुलुक राजनीतिक अस्थिरता र जनअपेक्षा अनुसारको समृद्धि हासिल गर्न नसकेको भन्दै धेरैले गणतन्त्रको उपलब्धि जोगाउन अझ जिम्मेवार र साझा प्रयासको खाँचो औंल्याएका छन्।

गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली तथा देशवासीमा सुख, शान्ति र समृद्धिको कामना गरिएको छ।