काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा ट्राफिक प्रहरीले लुकिछिपी सवारी चेकजाँच गर्ने प्रचलन फेरि सुरु गरेको छ। विशेष गरी स्पिड लेजर गन प्रयोग गरेर गुपचुप तरिकाले स्पिड जाँच गरिँदा दुर्घटनाको जोखिम बढेको भन्दै सर्वसाधारणले आपत्ति जनाएका छन्।
केही वर्षअघि भक्तपुरमा यस्तै जाँचका क्रममा सवारी दुर्घटनामा ज्यान गएको घटनाले व्यापक आलोचना खेपेको थियो। त्यसपछि रोकिएको लुकिछिपी चेकजाँच अहिले पुनः सुरु हुन थालेको जनगुनासो छ।
ट्राफिक नियम कार्यान्वयन गर्नु सकारात्मक भए पनि, साँघुरा सडक, अस्तव्यस्त ट्राफिक र चालकमा पर्याप्त सचेतना नहुँदा यस्तो गुपचुप जाँचले दुर्घटनाको खतरा निम्त्याउने स्थानीयवासीको भनाइ छ।
‘सडकमा देखिने गरी ट्राफिकको उपस्थिति र सचेतना अभिवृद्धि गर्नु राम्रो तरिका हो। लुकेर जाँच गर्दा चालक अचानक डराउँछन् र दुर्घटना बढ्ने सम्भावना रहन्छ,’ एक स्थानीयले बताए।
सहरी क्षेत्रमा सवारी ब्यवस्थापन अझै पनि परम्परागत शैलीमा चलिरहेको र प्रविधि तथा स्मार्ट ट्राफिक सिस्टमको प्रयोग आवश्यक भइसकेको विज्ञहरुको सुझाव छ।
ट्राफिक प्रहरी कार्यालयले भने सडक सुरक्षाका लागि अभियान निरन्तर जारी रहेको जनाएको छ। तर, यसलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाइनु पर्ने आवश्यकता सर्वसाधारणले औंल्याइरहेका छन्।