अन्तर्राष्ट्रिय खबर । गाजामा इजरायलले पछिल्लो २४ घण्टामा गरेको हवाई आक्रमणमा ७६ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार लगातार भइरहेका आक्रमणमा हताहत हुनेहरूको संख्या दिनानुदिन बढ्दै गएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा द्वन्द्व हालसम्मकै सबैभन्दा क्रूर चरणमा पुगेको बताएका छन्।
उनले भोकमरीको चपेटामा परेकाहरूलाई सहायता पुर्याउन नसकिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघले गाजामा अहिलेसम्म कुनै पनि मानवीय सहायता वितरण नभएको जनाएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणका कारण हालसम्म ५३ हजार ८२२ जना प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ भने १ लाख २२ हजारभन्दा बढी घाइते भएका छन्।
द्वन्द्व नरोकिए मानवीय संकट थप भयावह बन्ने देखिएको अन्तर्राष्ट्रिय संस्थाहरूले जनाएका छन्।